Sajhamanch Archive

सतासीले जिल्लाका थप चार स्थानमा सहकारी पसल खोल्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडलाई सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्ने प्रयोजनका लागि विशिष्टिकृत सहकारी संस्थाको गठन गर्न र नेतृत्व लिन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले आग्रह गरेका छन् ।

संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले सतासीसँग सहकारी पसल सञ्चालनको अनुभव रहेकाले विशिष्टिकृत संस्थाको व्यवसायिक नेतृत्व लिन आग्रह गरेका हुन् ।

आफ्नो मन्तब्यमा अध्यक्ष ढकालले सतासी सहकारी वित्तीय रुपले आत्मनिर्भर एवम् व्यवसायिक रुपले सक्षम र सबल भएकाले आफ्ना सदस्यहरुले उचित प्रतिफल पाउन सकेको पनि बताएका छन् ।

साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थामा चार हजार ८९० जना शेयर सदस्यहरुबाट चार करोड ८० लाख ८९ हजार ७०० रुपैयाँ शेयर पूँजी रहेको विवरण सुनाए ।

संस्थामा गत आर्थिक वर्षभन्दा ३२ दशमलव ४९ प्रतिशतले निक्षेपमा वृद्धि भई ३२ करोड ७१ लाख ६२ हजार १७४ रुपैयाँ पुर्याइएको तथा चालू वर्षमा ४१ करोड १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको उनले सुनाए ।

सतासी सहकारीमा गत आर्थिक वर्षभन्दा ७ दशमलव १८ प्रतिशतले कर्जा लगानी वृद्धि गरी ३८ करोड ४० लाख ७२ हजार पुर्याएको छ भने जगेडा कोषमा तीन करोड ७० लाख २५ हजार पुर्याइएको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका कारण विगतभन्दा वित्तीय कारोबार खस्किए पनि एक करोड १६ लाख १० हजार रुपैयाँ मुनाफा गरेको सहकारीले संरक्षित पूँजी फिर्ता कोषमार्फत् नियमित कारोबारी सदस्यहरुलाई १९ लाख ५ हजार ७९८ रुपैयाँ वितरण गर्ने प्रतिवेदनमा जनाइएको छ ।

कोभिड १९ को कारणले समयमै थप सहकारी पसल सञ्चालन हुन नसके पनि हल्दिबारीमा एउटा पसल सञ्चालनमा ल्याएको सो कार्यक्रममा जानकारी दिइएको छ । त्यस्तै अब चाँडै सुरुङ्गा, गरामनी, मेचीनगर र अर्जुनधारामा पसल सञ्चालन गर्ने लक्ष्य लिएर बजेट व्यवस्था गरिएको जनाइएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना संक्रमण रोक्न गरिएको लकडाउनमा गरिब तथा विपन्नलाई राहत दिन विभिन्न पाँचवटा पालिकालाई ५० हजार रुपैयाँको दरले दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ ।

साधारणसभामा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले आ–आफ्ना धारण राखेका थिए ।

साधारणसभामा उपस्थितहरुलाई संस्थाका उपाध्यक्ष सुजता थापा मगरले शब्द स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *