सात दिनमा १५ चोरीका मोटरसाइकल भेटिए, सात जना पक्राउ
Published:
by .झापा । झापामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहको सञ्जालका सदस्यहरूलाई पक्राउ गरेको छ । एक हप्तासम्म चलाइएको ‘अप्रेसन हन्ट’बाट मोटरसाइकल चोरीमा संलग्न सातजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोडमा डेरा गरेर मोटरसाइकल चोरीमा संलग्नको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
बिर्तामोडबाट चोरी गरेका १५ वटा मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा इलाम माई नगरपालिका– २ का रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका– ६ का २० वर्षीय रोशन गिरी, सोही ठाउँका २० वर्षीय राजेश गिरी र सोही ठाउँका मनीष गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउपालिका– ३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा– ४ का २२ वर्षीय सन्दीप लिम्बु रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
प्रहरी नायब उपरीक्षक रिजालका अनुसार उनीहरू एकदम पेसेवर चोर हुन् । उनीहरूले प्रक्रिया मिलाएर चोरी गर्ने गरेका छन् । कसैले चोरी गर्ने मोटरसाइकलको रेकी गर्ने, कसैले चोरी गर्ने र कसैले डेलिभरी गर्ने गर्दा रहेछन् । उनीहरूले मिनेटभित्रमा मोटरसाइकल चोर्दारहेछन्,’ उनले भने, ‘चोरिएका मोटरसाइकल इलामको दक्षिणी क्षेत्र जहाँ प्रहरीको उपस्थिति कमजोर छ, त्यहाँ लगेर बिक्री गर्ने गरेका रिजालले बताए ।
मोटरसाइकल चोरीमा संलग्नको आँखामा पल्सर मोटरसाइकल पर्ने रिजालले बताए ।
‘हामीले बरामद गरेका अधिकांश मोटरसाइकल पल्सर छन् । त्यो पनि रातो र कालो रंगको । यिनीहरू चाँडो बिक्री हुने रहेछ,’ उनले भने, ‘चोरिएका मोटरसाइकल संलग्नले स्टोर गरेर राख्ने गरेका रहेछन् । हामीले बरामद गरेका कुनै पनि मोटरसाइकल बिक्री भने नगरेको प्रहरीले बताए ।’
’
Comments