सोमबारदेखि दिल्लीमा विद्यालय खुल्ने
Published:
by .काठमाण्डौ । भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएका छन् । सरकारले अर्को हप्तादेखि विद्यालयमा अध्ययन-अध्यापन गराउन सुरु गर्ने निर्णय गरेको हो ।
भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । अन्य कक्षाको बारेमा भने केही जानकारी दिइएको छैन ।
विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले बताएका हुन् । विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले बताएका छन् ।
आउँदो १८ तारिख अर्थात सोमबारदेखि विद्यालय खुलाउने तयारी भएको छ । दिल्लीका विद्यालयमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।
दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ ।
Comments