एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा
Published: (Updated: )
by .युएई । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ अगष्ट २३ देखि २५ तारिखसम्म दुबईमा हुने छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको छ ।
नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भेलाको प्रमुख आतिथ्य गर्ने निश्चित भएको एनआरएनए युएईले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
उक्त भेलामा श्रम मन्त्रालयका तर्फबाट उपसचिव विपिन आचार्य र पूर्व श्रममन्त्री रमेश लेखक पनि आउने विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी भेलामा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिवालयबाट हेमन्तकुमार दवाडी, कानुनी सल्लाहकार स्वेच्छा घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिपकुमार थापा पनि सहभागी हुने जनाइएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना तथा समायोजन, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा बृहत छलफल गर्दै युएई घोषणा पत्र जारी गर्ने एनआरएनएका मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले जानकारी दिए ।
मध्यपूर्वका १२ देशका एनआरएनए सामाजिक अभियन्ताहरुको उपस्थिति रहने तथा एनआरएनए आइसीसीबाट पनि उल्लेख्य सहभागिता रहने जनाइएको छ । यस्तो भेला युएईमा गर्न पाउनु राम्रो अवसर भएको भन्दै सरकार र सरोकारवाला माझ मध्यपूर्वका मुद्दाहरु प्रति गम्भीर ध्यानाकर्षण गराउन बैठकमा सहभागी भई सफल बनाउन सम्बन्धित सबैमा एनआरएनए युएईले आग्रह गरेको छ ।
Comments