Sajhamanch Archive

एनएमसीमा एटिएम सेवा सुरु, दैनिक ५० हजारसम्म झिक्न पाइने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले माघ १ गतेदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

सम्भवतः प्रदेश १ मा नै पहिलो सहकारीका रुपमा एनएमसीले निक्षेप कारोबारका एटिएम सेवा भित्राएको हो । एनएमसीका सदस्यहरुले यही माघ महिनाबाट एटिएम सेवा उपभोग गर्न पाएका हुन् ।

एनएमसीले काँकरभिट्टा, चारआली, चन्द्रगढी, शनिश्चरे र दमक कार्यालयबाट एटिएम सेवा सञ्चालन गरिएको प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एटिएम सेवा शुभारम्भका अवसरमा संस्थाले पत्रकार सम्मेलन गरेको हो ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले पत्रकार सम्मेलनमा भने, ‘संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय कारोबारमा थप सहजताका लागि विगतदेखि नै नविनतम प्रविधिहरुको खोजी र प्रयोग गर्दै आइरहेकोमा यसैको निरन्तरतास्वरुप आजदेखि एटिएम सेवा सञ्चालनमा ल्याइएको हो ।’

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा आचार्यले प्रधान कार्यालयको परिसरमा रहेको एटिएम टर्मिनलमा टाँगिएको रिवन काटेर सेवाको शुभारम्भ गरिदिएका हुन् । सो एटिएमबाट संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले तत्कालै पैसा झिकेर सेवा सुचारु रहेको दर्शाएका थिए ।

कार्यक्रममा नगरप्रमुख आचार्यले एनएमसीलाई मेचीनगरको गौरवको संज्ञा दिँदै प्रविधिको प्रयोगबाट सदस्य सेवा सहज बनाउन गरेको प्रयासको सराहना ब्यक्त गरे । सहकारीहरुले सदस्यको सुखदुःखको साथी बनेर सामाजिक उत्तरदायित्वमा अग्रसर भएर पनि बैंकहरुसँग वित्तीय कारोबारमा प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको प्रति उनको चिन्ता थियो ।

सो अवसरमा मेचीनगरका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रविधिको थप पहुँचमा सदस्य सेवालाई विस्तार गरेकोमा एनएमसीप्रति आभार व्यक्त गर्दै सहकारी पसलजस्तै ठाउँठाउँमा एटिएम टर्मिनल विस्तार गरेर सेवा प्रवाह गर्न एनएमसी नेतृत्वलाई सुझाव दिइन् ।

सो अवसरमा संस्थाको बैकिङ्ग व्यवसाय विभागका प्रशासनिक प्रमुख मनिष कोइरालाले सदस्यहरुले एटिएम कार्ड प्राप्त गर्ने तरिका र अवसरहरुबारे जानकारी दिए । कार्यक्रम सञ्चालन गर्नेक्रममा पत्रकारहरुले राखेको जिज्ञासामाथि सहजीकरण गर्दै प्रशासनिक प्रमुख कोइरालाले एटिएम टर्मिनल नै राखेर सेवा प्रवाह गर्ने प्रदेश १ का सहकारीमध्ये एनएमसी पहिलो रहेको अवगत गराए । सदस्यहरुले दिनमा ५० हजार रुपैयाँसम्म पैसा झिक्नसक्ने उनले बताए ।

कार्यक्रममा सहभागी तथा उपस्थितहरुलाई बैंकिङ्ग व्यवसाय समितिका सदस्य राजु उप्रेतीले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *