Sajhamanch Archive

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जितसँगै, गण्डकी बाहिरियो

Published: in खेलकुद by .

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपीएफले सहज जित निकालेको छ ।

एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । एपीएफसँग पराजित भएसँगै गण्डकी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको आजको खेलमा गण्डकीले जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

एपीएफका लागि असिफ शेखले अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै, सुमित महर्जनले १८ रन जोडे । एपीएफका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ गण्डकीका लागि चन्द्र पौड्यल र विशाल पौड्यलले समान दुई/दुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनाएको थियो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाउँदा विष्णु पाण्डे र दीपेश खत्रीले समान १५/१५ रन जोडे ।

बलिङतर्फ एपीएफका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेर तीन मेडन ओभर फालेर ११ रन खर्चे ।
त्यस्तै, अविनाश बोहोरा र शरद भेसवाकरले समान दुई/दुई विकेट लिए । किशोर महत्वले एक विकेट लिए ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ । गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *