पूर्वनेपाल सहकारीद्वारा अभियन्ता पोखरेल र पत्रकार काफ्ले सम्मानित
Published:
by .भद्रपुर । कमल गाउँपालिका २ क्याम्पामा प्रधान कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज भद्रपुरमा २१औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा संस्थाले एकजना सहकारी अभियन्ता र एकजना सहकारी पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।
यो वर्ष पूर्वनेपालले सहकारी अभियन्ताका रुपमा राष्ट्रिय सहकारीका महासंघ नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेललाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।
यसैगरी सहकारी सञ्चारकर्मी पुरस्कार साझा सहकारी मञ्चका परिकल्पनाकार एवम् प्रस्तोता तथा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेलाई प्रदान गरिएको छ ।
उक्त दुवै सम्मान तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेल, संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक गणेश ढकाल, संस्थाका अध्यक्ष प्रेम सापकोटा लगायतले हस्तान्तरण गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा संस्थामा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यहरु सम्मानित र पुरस्कृत भएका छन् । यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विरेन्द्र मावि चन्द्रगढीमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि लक्षित गरी स्वीटर पनि प्रदान गरेको छ ।
२१औं वार्षिकोत्सवको अवसरमा आज अन्तर सेवाकेन्द्र कर्मचारी हाजिरीजवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम पनि गरिएको थियो । रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको जनाइएको छ ।
हाजिरीजवाफमा नवस्थापित भद्रपुर सेवा केन्द्रका कर्मचारीहरु प्रथम भएका छन् भने बिर्तामोड सेवा केन्द्र दोस्रो र सुरुङ्गा सेवा केन्द्र तेस्रो भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिसहित संस्थाका सञ्चालकहरुले पुरस्कार प्रदान गरेका थिए ।
संस्था स्थापना दिवसको अवसरमा आजै भद्रपुर सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले कार्यालयको मूल ढोकामा टाँगिएको रिवन काटेर सेवा केन्द्रको उद्घाटन गरिदिएका हुन् ।
Comments