Sajhamanch Archive

जिल्ला सहकारी संघमा सर्वसम्मत गर्ने प्रयास जारी, मनोनयन फिर्ता लिने अवधि ७२ घण्टा थपियो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्व चयन प्रक्रिया सर्वसम्मत बनाउन मनोनयन फिर्ता लिने अवधि ७२ घण्टा थपिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार हिजो माघ १० गते दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिने समय रहेको थियो । तोकिएको उक्त अवधिमा दोहोरो उम्मेदवारी परेका अधिकांश पदका आकांक्षीले मनोनयन फिर्ता लिएर सर्वसम्मतको मार्ग रोजेका छन् । तर तीनवटा पदमा अझै एकभन्दा बढी उम्मेदवार आकांक्षी रहेकाले ७२ घण्टा समय थपिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार कोषाध्यक्ष, २ नं. क्षेत्रीय सदस्य र खुल्ला सदस्य पदमा एक जनाभन्दा बढीको उम्मेदवारी कायम छ । ‘उहाँहरुले आपसी सल्लाह गरेर उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारीमा रहने सहमति गरी जिल्ला संघमा सर्वसम्मत कमिटी बनाउन थप गरिएको मनोनयन फिर्ता लिने अवसरको सदुपयोग गर्नु हुनेमा निर्वाचन समिति विश्वस्त रहेको’ समितिका सदस्य खोमप्रसाद बगालले बताएका छन् ।

सबै पदहरु निर्विरोध वा सर्वसम्मत नभएमा आगामी माघ १७ गते मतदान मार्फत् संघको नेतृत्व चयन गर्नुपर्ने कार्यतालिका छ । तर धेरै पदहरुमा सर्वसम्मत भइसकेकाले मतदानको विधिभन्दा आपसी छलफल एवम् समन्वयबाट नै सिङ्गो नेतृत्व चयन गर्नुपर्ने सहकारीकर्मीहरुको धारणा सुनिन्छ ।

संशोधित विधानअनुसार जिल्ला संघमा १९ सदस्यीय सञ्चालक समित हुनेछ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महिला उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सहसचिव १ जना रहनेछन् ।

संघका अधिकृत संजय ढकालका अनुसार जिल्लामा १२ जना सञ्चालक सदस्यहरु रहनेछन् । जसअनुसार ५ वटा निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महिलाको प्रतिनिधित्व हुनेगरी ५ जना सदस्य र कम्तीमा चारजना महिला निर्वाचित हुनेगरी खुल्ला सदस्य तर्फबाट ७ जना चयन हुनेछन् । झापा जिल्ला सहकारी संघमा ५०० हाराहारी प्रारम्भिक सहकारी संस्था तथा विषयगत संघहरु सदस्य रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *