Sajhamanch Archive

झापाको धौलागिरी पारिजात सहकारीको ब्याज दर सिङ्गल डिजिटमा

Published: in अर्थतन्त्र, सहकारी by .

बिर्तामोड । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देशयीय सहकारी संस्थाले पूर्वका सहकारीमध्ये पहिलो पटक कर्जाको ब्याजदर सिङ्गल डिजिटमा झारेको दाबी गरेको छ ।

पुस १९ को बैठकको निर्णय अनुसार यही माघ १५ गतेदेखि कार्यान्वयन हुनेगरी व्यवसाय पुनरुत्थान कर्जा शीर्षकमा ९ दशमलब ९ प्रतिशत ब्याज दरमा लगानी गरेर ब्याजदर सिङ्गल डिजिटमा झारेको अध्यक्ष कृष्ण पौडेलको भनाई छ । उनका अनुसार अहिलेसम्म सिङ्गल डिजिटमा कुनै पनि सहकारीले कर्जा लगानी गरेका छैनन् । सो शीर्षकमा कोरोना कहरले थलिएको व्यवसायलाई पुनःजीवन दिन अधिकतम् १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने संस्थाको निर्णय छ ।

गएको असार मसान्तमा संस्थासँग २ करोड ९१ लाख १० हजार ८०० रुपैयाँ शेयर पूँजी रहेको छ । त्यस्तै सोही अवधिमा १३ करोड ७९ लाख ७७ हजार रुपैयाँभन्दा बढी निक्षेप मौज्दात रहेको जनाइएको छ । यसैगरी संस्थाको सञ्चित कोषमा एक करोड ५५ लाख ७१ हजार रुपैयाँभन्दा बढी रकम सञ्चित रहेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

संस्थामा पाँच हजार ५०० भन्दा बढी शेयर सदस्य आवद्ध छन् भने जिल्लाका विभिन्न ४ स्थानबाट सेवा प्रवाह गरिरहेको बताइन्छ । संस्थाका शेयर सदस्यहरुलाई सहजरुपमा कर्जा प्रवाह गर्दै आएको धौलागिरीले सरकारले तोकेकोभन्दा कम ब्याजदर १४ प्रतिशत निर्धारण गरेको छ ।

संस्थाले एक व्यक्तिलाई अधिकतम एक करोड रुपैयाँसम्म १२ दशमलब ५ प्रतिशतमा कर्जा प्रवाह गर्ने नीति बनाएको जनाएको छ । त्यस्तै ५१ देखि ७५ लाखसम्मको कर्जा लगानीमा १३ प्रतिशत, २० देखि ५० लाखसम्म १३ दशमलब ५ प्रतिशत र ५ देखि २० लाखसम्मको कर्जा लगानीमा १४ प्रतिशत व्याज लिइने संस्थाका व्यवस्थापक राजेश दाहालले बताए ।

यस्तै सस्थाले पाँच वर्षे बाल बचतका लागि १० प्रतिशत, आवधिक बचत छ महिने र एक वर्षे बचतलाई ९ दशमलब ५ प्रतिशत, तीन वर्षे क्रमिक बचतका लागि ८ प्रतिशत, धौलागिरी सुपर सेभिङ्ग अन्तरगत ७ प्रतिशत र एक वर्षे क्रमिक बचतका लागि ७ प्रतिशत व्याजदर कायम गरिने जनाइएको छ ।

गत आर्थिक वर्षमा संस्थाले १५ करोड ५१ लाख ८१ हजारभन्दा बढी कर्जा लगानी गरेको छ । कर्जाको व्याजदर सिङ्गल डिजिटमा झारेपछि चालू आर्थिक वर्षमा संस्थाले कर्जा लगानी रकम वृद्धि हुने व्यवस्थापक दाहालले विश्वास व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *