Sajhamanch Archive

अमेरिकी राजदूत बेरी राजनीतिक भेटघाटमा व्यस्त

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

बेरीले प्रचण्डसँगको भेटपछि ट्वीट गर्दै भनेका छन्, ‘नयाँ प्रशासनका प्राथमिकताहरुबारे छलफल गर्न भइरहेका श्रृंखलाबद्ध भेट अनुसार मैले प्रचण्डसँग भेट गरेको छु । मैले प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकहरुको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता दोहोर्याएको छु ।’पछिल्ला भेटहरु नयाँ राष्ट्रपतिको नेपाल र विश्वव्यापी प्राथमिकता जानकारी गराउने उद्देश्यले भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

नयाँ प्रशासनको पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा केही पृथक प्राथमिकताहरु रहेका छन् । जस्तो वाइडले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय लिएका छन् जुन निर्णयले नेपाललाई पनि केही असर गर्छ । अमेरिकाले सो सम्झौतामा जोडिने निर्णय गरेसँगै राजदूत वेरीले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । जलवायु परिवर्तनका एजेण्डाहरुमा नेतृत्व लिने उद्देश्यले नेपालले सो संवाद गतवर्ष आयोजना गर्ने तय गरेको थियो तर कोभिडका कारणले सम्भव भएन । सो संवादलाई सहयोग गर्ने चाहना अमेरिकाले व्यक्त गरेको छ ।

त्यसैगरी नेपाली नेताहरुसँगको भेटमा अमेरिकाले कोभिड–१९ विरुद्ध लड्न नेपालसँग नजिकको सहकार्य गर्ने अमेरिकी चाहना समेत राजदूतले व्यक्त गरेका छन् । त्यसैगरी महिला र बालबालिकाको अधिकार पनि अमेरिकाको अर्को महत्वपूर्ण प्राथमिकता भएको बेरीले नेताहरुलाई जानकारी दिएका छन् । पछिल्ला भेटहरुमा एमसीसीको बारेमा कुरा भयो कि भएन भन्ने विषयमा दुवै पक्षले केही जानकारी गराएका छैनन् । त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भए/नभएको दुवै पक्षले बताएका छैनन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *