भन्सार चुहावट न्यूनीकरण गर्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल
Published:
by .काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।
६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मङ्गलबार भन्सार विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने अर्थमन्त्री पौडेलले जानकारी दिए। निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलको भनाइ छ । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उनकोृ माग रहेको छ । भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत अध्यक्ष गोल्छाले आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार सङ्गठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताएका छन् । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन श्रेष्ठले माग गरे ।
भन्सार प्रशासनले व्यवसायीहरूलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै भ्याटको दर, आयकरको दरलगायतका करका दर घटाउनसमेत माग गरे।
Comments