Sajhamanch Archive

दोमुखामा बालकल्याण भूपू विद्यार्थी–शिक्षकहरुकोे पुनःमिलन, वनभोजसँगै सम्मान गरिने

Published: (Updated: ) in शिक्षा, समाज by .

दमक । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बाल कल्याण माविले दोश्रो बृहत पुनःमिलन कार्यक्रम गर्ने भएको छ । २०१७ सालमा स्थापना भएको भूतपूर्व विद्यार्थी तथा शिक्षकहरुबीच आउँदो शुक्रबार कार्यक्रम गर्ने तयारी भएको जनाइएको छ ।

झापाको पर्यटकीय क्षेत्र दोमुखामा वनभोजसहित अन्तरक्रियासाथै आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिने भएको हो ।

भूतपूर्व विद्यार्थी एवंम् शिक्षकहरुबीच भेटघाट गर्ने सो कार्यक्रमको ८० प्रतिशत तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । असंगठित रुपमा रहेका सो विद्यालयका भूपू विद्यार्थीहरुले ६/७ बर्ष अघिदेखि विभिन्न सेवामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएका थिए । गत वर्ष फागुन ३ देखि संगठित रुपमा नै विभिन्न किसिमका कार्यक्रम गर्दै आएका छन ।

यस वर्ष पनि माघ १६ अर्थात् आउँदो शुक्रबार सो कार्यक्रमको आयोजना गरिने भएको हो । कार्यक्रमको अवसरमा लामो समयदेखि विद्यालय प्रशासनको जिम्मेवारी सम्हालेका विद्यालयका पूर्व प्रधानाध्यापकहरु र सेवारत विद्यालय कर्मचारी भिमप्रसाद खनाल (बाजे) लाई विशिष्ट सम्मान गरिने भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष सुवास मोक्तानले जानकारी दिए ।

मोक्तानका अनुसार, वर्षेनी यस किसिमको सम्मान कार्यक्रमलाई आयोजना गरिने र कार्यक्रमहरुमा जोडदै लैजाने संस्थाको आगामी योजना रहेको बताएका छन् ।
कार्यक्रमको पूर्व तयारी स्वरुप यसअघि भएका चरणबद्ध छलफल पश्चात विद्यालय परिवार, गाउँपालिका कार्यालय, १ नम्बर वडा कार्यालय लगायतमा औपचारिक रुपमा संस्थागत निमन्त्रणा गरिएको जनाइएको छ ।

भूपू विद्यार्थीहरु देश विदेश सम्म छरिएको अवस्था भएकाले सबैलाई सार्वजनिक सूचना मार्फत कार्यक्रममा सहभागी हुन आव्हान गरिएको आयोजक संस्थाका सचिव भवानी काफ्लेले जानकारी दिए । सो अवसरमा गत वर्षको भेलाबाट गठन गरिएको नेत्र पौडेल, सुवास मोक्तान र राजेन्द्र उप्रेती सम्मिलित विधान मस्यौदा समितिले तयार गरेको छ । सोही दिन संस्थाको विधानको मस्यौदालाई अन्तिम रुप दिइने भएको छ ।

संस्थाको साधारण सदस्यता वितरण गरि विभिन्न विभागीय समितिहरु समेत निर्माण लगायतका कार्यक्रमहरु गरिने सचिव भवानी काफ्लेले जानकारी दिए ।
ऐतिहासिक महत्व राख्ने कार्यक्रममा सार्वजनिक सूचना मार्फत भए पनि सहभागी जनाइदिन आयोजक समितिले अपिल गरेको छ । कार्यक्रममा सहभागी हुनको लागि अन्तिम समय बुधबार दिउँसो १२ बजे सम्मका लागि तोकिएको छ ।

त्यस अगावै विद्यालय वा आयोजक समितिसँग सम्पर्क गरि आफ्नो नाम दर्ता गराउन र विद्यालयमा कुनैपनि कालखण्डमा अध्ययन गरेका सम्पूर्ण भूपू विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुमा अनुरोध पनि गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *