त्रिभुवन आर्मीले बागमतीलाई २३० रनको लक्ष्य
Published:
by .काठमाडौं । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा आज आर्मीले बागमतीलाई २३० रनको औसत लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ८० रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो ।
ओपनरमा हरि चौहानले तीन तथा अनिलकुमार मण्डलले दुई रन बनाएर पेभेलियन फर्केपछि सुरुवाती दबाबमा आएको आर्मीले २६ औं ओभरसम्म उक्त दबाबबाट बाहिर आउन सकेनन ।
मध्यक्रममा राजेश पुलामी मगर र बिक्रम सोबले सातौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै आर्मीलाई सामान्य योगफलमा समेटिनबाट जोगाउँदै सेमीफाइनलको स्पर्धालाई मजबूत बनाए ।
पुलामीले ९१ बलमा चार चौका र दुई छक्कासहित ६५ रन बनाए । बिक्रम सोबले ३५ रनको महत्वपूर्ण योगदान दिए । त्यसअघि, भिम सार्कीले ६१ बलमा ४० रन बनाउन सफल भए । सुशन भारीले १६ रनको योगदान दिएर अन्तिम बलमा रन आउट हुँदा आर्मीले ५० ओभरमा २२९ रनको औसत योगफल तयार गर्न सफल भयो ।
बागमतीका लागि गौतम केसीले सुरुमा तीन विकेट लिएर आर्मीमाथि दबाब बनाउन सफल भए । उनले १० ओभरमा ६१ रन खर्चेर पाँच विकेट लिए । नन्दन यादबले १० ओभरमा मात्र ३७ रन खर्चेर एक विकेट लिन सफल भए । राम नरेश गिरी, तिलक भण्डारी र बिपीन आचार्यले एक एक विकेट लिए ।
Comments