Sajhamanch Archive

बिर्तामोडमा महिला उद्यमीले सम्पन्न गरे खाना महोत्सव

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा विगत वर्षमाजस्तै यो वर्ष पनि खाना महोत्सव सम्पन्न भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा महोत्सव सम्पन्न गरिएको हो ।

महोत्सव उद्घाटन पछि मन्तब्य राख्दै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले पुरुषको तुलनामा महिलाको नेतृत्व बढी सफल हुने जिकिर गरे । आफ्नो तर्कलाई थप प्रष्ट पार्दै मन्त्री कार्कीले महिलाले नेतृत्व गरेका संघ–संस्थाहरू र महिलाले शुरू गरेका उद्यम व्यवसाय सफल र अब्बल देखिएको बताएका हुन् ।

‘महिलाले जे काम वा जिम्मेवारी लिन्छन् त्यसमा प्रतिवद्ध हुन्छन्, पुरुषको मन कतिबेला के हुन्छ भन्न सकिन्न, राजनीतिमा पनि त्यस्तै हुन्छ, जो उम्मेद्वारको प्रचार प्रसारमा महिला बढी खटिन्छन् त्यहाँ सफलता प्राप्त हुन्छ, तर पुरुषले पार्टी परिवर्तन गरेको पनि पत्तो हुँदैन’ मन्त्री कार्कीको तर्क थियो ।

महिला उद्यमीले उत्पादन गरेको सयपत्री फुललाई सुरक्षित रूपमा राख्नका लागि सिड हाउस बनाउने प्रस्ताव ल्याए प्रदेश सरकारको तर्फबाट तत्कालै सिड हाउस निर्माणको कार्य अघि बढाउने उनको आश्वासन थियो ।

त्यस्तै झापामा मेला महोत्सवका लागि सुविधा सम्पन्न हल बनाउनका लागि जमिनको खोजी गर्न झापाका व्यापारी–व्यवसायी समक्ष मन्त्री कार्कीको आग्रह छ ।

महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिाज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, महिला उद्यमी संघ नेपाल इलामका शुशिला सापकोटा लगायतले शुभकामना मन्तव्य राखेक थिए । कार्यक्रमको सञ्चालन युनिता दवाडीले गरेकी थिइन् ।

खाना महोत्सवमा कोदोको सेलरोटी, ढिँडो, गुन्द्रुकको अचार, तरुल, सिस्नोको सुप, अचारलगायत परम्परागत खानाका परिकार राखिएको थियो । यस्तै, खाँडीको कपडा, ढाका कपडा, बाँसबाट बनाइएका विभिन्न सामग्री, मह, अचार, कोदो, फापरको पिठो, टिमुर, तीलको छोप लगायत महिला उद्यमीहरुले उत्पादन गरेका स्थानीय सामग्रीहरुको स्टलसमेत राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *