Sajhamanch Archive

१० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २० गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको चालु आर्थिक वर्षमा राष्ट्र ऋण उठाउने तालिकाअनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

सातवर्षे अवधिको ‘विकास ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ ।

माघ २० गते बोलकबोल पेश गर्ने मिति रहेको ऋणपत्रको निष्कासन मिति माघ २१ गते रहेको छ । यस्तै सावाँ २०८३ माघ २१ गते भुक्तानी हुनेछ । उक्त ऋणपत्रमा लगानी गर्नेले आर्जित ब्याजदरमा ब्याजकर तिर्नु नपर्ने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने विकल्प छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोल गर्नेलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । प्रतिस्पर्धीमा सहभागी नहुनेलाई छुट्याएको रकम पूरा कबोल नभए प्रतिस्पर्धी बोलकबोलवालाई बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धीले कबोल गरेको ब्याजदरको आधारमा सानोदेखि ठूलोसम्म क्रम मिलाएर बाँडफाँड गरिने रकमसम्म कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलकबोललाई ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमासम्म ५० हजारले भाग गर्दा निःशेष भाग जाने रकममा भाग गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजप्राप्त संस्थाले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *