शहीद धर्मभक्त माविमा अवरुद्ध पठनपाठन सुचारु
Published:
by .कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा शिक्षकले छात्रामाथि गरेको अनैतिक व्यवहार विरुद्ध विद्यार्थीले गरेको आन्दोलका कारण अवरुद्ध पठनपाठन आजबाट नियमितरुपमा सञ्चालन भएको छ ।
छात्रामाथि अनैतिक व्यवहार गर्ने दुईजना शिक्षकलाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दै विद्यार्थीले गरेको आन्दोलनका कारण तीन दिनदेखि पठनपाठन हुन सकेको थिएन । पिडीत छात्रालाई न्याय दिलाउन र विद्यालयको पठनपाठन नियमित सञ्चालन गर्न आइतबार विद्यालय व्यवस्थापन समितिले सरोकारवालासँग बैठक गरेको थियो ।
बैठकमा विद्यार्थी संगठन, अभिभावक, बाल क्लवको सहभागिता थियो । सो संयुक्त बैठकले दोषी शिक्षककलाई ७ दिनसम्म विद्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रधानाध्यापक काजीमान पौडेलले जानकारी दिएका छन् ।
सो समयभित्र विद्यालयको असहज परिस्थितिलाई सहज बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका शिक्षा शाखालाई पत्राचार गरिएको प्रधानाध्यापक पौडेलले बताए ।
सो विद्यालयका दुईजना शिक्षकले छात्रामाथि पटकपटक अनैतिक व्यवहार गरेको रहस्य बाहिर आएपछि अभिभावक विद्यार्थी आन्दोलित भएका थिए । शिक्षकको यस्तो अनैतिक व्यवहारले छात्रालाई मानसिक रुपमा तनाव हुने गरेकोले त्यस्ता शिक्षक विरुद्ध हदैसम्मको कानूनी कारवाहीका लागि अनेरास्ववियूका कमल कटुवाल र नेपाल विद्यार्थी संघका जितेन साम्पाङको हस्ताक्षरमा निवेदन पेश भएको छ ।
उक्त निवेदन आज विद्यालय प्रशासन, कमल गाउँपालिका शिक्षा शाखा र कमल गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा बुझाइएको नेता साम्पाङले जानकारी दिएका छन् ।
Comments