Sajhamanch Archive

हेटौडा बस टर्मिनल निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच २० करोड ६९ लाख ऋण सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

हेटौडा । व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यले हेटौडामा २०७७ माघ २१ गते हेटौडा उपमहानगरपालिका र नगर विकास कोष बीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको छ ।

हेटौडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच २० करोड ६९ लाख ९८ हजार ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजनाको निर्माणका लागि कुल लागत ३४ करोड ४९ लाख ९७ हजार अनुमान गरिएको छ । ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने जनाइएको छ ।

बाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौडामा सौन्दर्यताको लागि सुविधा सम्पन्न सो भवन क्षेत्रमा सानाठूला गरी १३० ओटा गाडीहरु एकैसाथ पार्किङ्ग गर्न सकिने व्यवस्था छ । व्यवसायिक भवनभित्रको दोस्रो तल्लोमा ९० वटा चार पाङग्रे र २५० वटा दुई पाङग्रे सवारी साधनका लागि पार्किङ्ग सुविधा रहेको जनाइएको छ ।

सो भवनले हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङ्गलाई न्यूनीकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ्ग व्यवस्थापनमा सहयोग पुग्ने र आर्थिक वृद्धिमा समेत टेवा पुग्ने बताइएको छ ।

ऋण सम्झौताका क्रममा उपमहानगरपालिका प्रमुख महतले नगर विकास कोषसँगको सहकार्यतामा थप नयाँ आयोजना गर्न पाउँदा खुशी व्यक्त गरे । उनले, ऋण लगानीबाट पनि दिगो शहरी पूर्वाधार निर्माण गर्न सकिने बताए ।

सोही अवसरमा कोषका कार्यकारी निर्देशक सापकोटाले हेटौडा उपमहानगरपालिका र कोषसँगको सम्बन्ध पुनःस्थापित भएर सहकार्य गर्न पाएकोमा खुशी भएको जनाए । निर्देशक सापकोटाले आयोजनाको परिकल्पना अनुसारको निर्माण कार्य समयमा सम्पन्न हुने विस्वास लिएको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *