धिमाल परिवारको दुःखमा केर्खा लायन्सको मल्हमपट्टी
Published:
by .झापा । लायन्स क्लब अफ केर्खाले स्वर्गीय गणेशबहादुर धिमालको परिवारलाई सहयोग गरेको छ । झापाको कमल गाउँपालिका ३ बस्ने ६१ वर्र्षीय धिमाल (ठेलावाला धिमाल दाइ)को मृत्यु भएको दोस्रो दिन लायन्स क्लब अफ केर्खाले धिमाल परिवारलाई नगदका साथै खाद्यान्न सहयोग गरेको हो ।
जोन चियर पर्सन लायन, विश्वासबाबु कायस्थ लगायत लायनप्रेमीहरुको तर्फबाट १० हजार १०० रुपैयाँ नगदसहित १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा कपडा मृतक धिमालको परिवारलाई प्रदान गरिएको छ । कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल मार्फत उक्त सामग्रीहरु प्रदान गरिएको लायन्स क्लब अफ केर्खाका प्रथम उपाध्यक्ष देबेन्द्र दाहालले बताएका छन् ।
२०३९ सालदेखि केर्खामा बसोवास गर्दै आएका धिमालले ठेला चलाएर परिवार पाल्दै थिए । आर्थिक अवस्था अत्यन्तै न्युन भएका धिमालका श्रीमती, ३ छोरा र ४ छोरी छन् । अर्काको घरमा भाडामा बस्दै आएका धिमाल परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले माधव गुरागाईको संयोजनमा हिजो राहत प्रदान गरिएको क्लबले जनाएको छ ।
जहाँ समस्या त्यहाँ लायन भन्ने नाराका साथ स्थापना भएको लायन्स क्लब अफ केर्खाले समाजमा समस्या परेका व्यक्ति तथा परिवारलाई विभिन्न सहयोग गर्दै आएको छ । सोही शिलशिलालाई निरन्तरता दिँदै धिमाल परिवारलाई सहयोग गरेको अध्यक्ष अग्निप्रसाद कोइरालाले बताए ।
Comments