Sajhamanch Archive

प्रदेश १ मा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश नं १ प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । कार्यव्यवस्थाको बैठकमा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रदेश सभामा बैठक पनि आजै दिउँसो बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल अगाडि बढाउने प्रक्रियाबारे सहमति जुटाउन र प्रदेशसभाको बैठक आगाडी बढाउने बिषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने भएको हो ।

प्रदेशसभाको सातौं अधिवेशनको दोस्रो बैठक आइतबार २ बजेका लागि बोलाइएको छ । यसअघि माघ ७ गते पहिलो बैठक तीन मिनेट पनि नबसी अन्त्य भएको थियो । माघ ७ गते पहिलो बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक आइतबार बस्न लागेको हो । संसदमा अन्य बिज्नेस पनि नभएको अवस्थामा आइतबारको बैठकको कार्यसूचि के हुने भन्ने तय भएको छैन ।

मुख्यमन्त्री राईविरुद्ध उनकै दल नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । दाहाल–नेपाल समुहका सांसदहरुले छिटो बैठक बोलाएर अविश्वास प्रस्तावमा छलफल अघि बढाउन यसअघि नै सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरिसकेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न सभामुखले मिति र समय तोकेर अग्रीम रुपमा सवै सदस्यहरुलाई जानकारीका लागि सूचनापत्रमा प्रकाशित गर्नुपर्ने प्रदेशसभा नियमावलीको नियम १२९ को उपनियम ९३० मा व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *