सर्वोच्चमा बहस जारी, आजदेखि रिट निवेदकले जवाफ दिने
Published:
by .काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा बहस अझै जारी नै छ । सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि रिट निवेदकहरूले जवाफ दिने छन् ।
कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटको विरुद्धमा गत माघ १९ गतेदेखि कानुन व्यवसायीहरूले बहस सुरु गरेका थिए । उक्त बहस बिहीबार सकिएको छ । त्यसअघि रिट निवेदकहरूका वकिलले बहस गरेका थिए ।
आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयको खारेजी र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
Comments