Sajhamanch Archive

‘झापा जिल्ला सहकारी संघः नेपालकै दोस्रो छ, अब पहिलो बन्न कसरत गर्नुस्’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । जिल्ला सहकारी संघ झापाको सातौं कार्यकालका लागि निर्वाचित नेतृत्वले शनिबारदेखि पदभार ग्रहण गरेको छ । बिर्तामोडमा आयोजित पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेर निर्वाचन समितिबाट सपथ ग्रहण गरेपछि कार्यकाल प्रारम्भ भएको हो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता देबेन्द्र भण्डारीले निर्वाचितहरुको नाम बाचन गरेका थिए । पदस्थापन समारोहमा क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गरी निर्वाचित नवराज भट्टराई बाहेक सबैजनाको उपस्थिति रहेको थियो । पदस्थापन समारोहमा निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै अविरजात्रा समेत गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै उपाध्यक्ष पोखरेलले करिब ५५ वर्षे इतिहास बोकेको झापा जिल्ला सहकारी संघले पछिल्लो ५ वर्षमा गरेको कामका कारण देशकै दोस्रो उत्कृष्ट जिल्ला संघ भएको बताए । ललितपुर जिल्ला संघपछि झापा दोस्रो स्थानमा रहेको छ, नयाँ नेतृत्वले प्रस्तुत गरेको कार्ययोजना सफल कार्यान्वयन गरेर देशकै उत्कृष्ट जिल्ला संघ बन्न उनले शुभकामना दिए ।

पदस्थापन समारोहमा नयाँ नेतृत्वलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, प्रदेश सहकारी संघ प्रदेश १ का अध्यक्ष डिल्ली पोखरेलले बधाई दिँदै कार्यसफलताको शुभकामना दिएका थिए । यसैगरी, बचत तथा ऋण सहकारी केन्द्रीय संघ नेफ्स्कोनका सञ्चालक सदस्य तथा जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी, नेपाल सहकारी बैंकको नवगठित सञ्चालक समितिका सदस्य तथा संघका निवर्तमान सञ्चालक दुर्गा सापकोटा लगायतले नयाँ जिम्मेवारी लिने सहकारीकर्मीलाई बधाई ज्ञापन गरेका थिए ।

जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित समारोहमा उपस्थितहरुलाई निवर्तमान उपाध्यक्ष गीता कुँवरले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव युवराज ढकाल र नवनिर्वाचित सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

नवनिर्वाचित सचिव दंगालले पदस्थापन समारोहमा आगामी चार वर्षे कार्यकालका लागि जिल्ला संघको कार्ययोजना प्रस्तुत गरेका थिए । संघले राष्ट्रिय सहकारी महासंघमा १० लाख रुपैयाँ, राष्ट्रिय सहकारी वैंकमा १० लाख रुपैयाँ र प्रदेश सहकारी संघमा एक लाख रुपैयाँ शेयर लगानी गर्ने उनले जानकारी दिएका थिए ।

यसैगरी आफूहरुको ४ वर्षे कार्यकालमा संघको भवन निर्माण गर्ने, शेयर बृद्धि गर्ने, सहकारीको पूँजी बृद्धि गर्ने लगायतका चारवटा काम प्रमुखताका साथ सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिबद्धता जाहेर गरेका थिए ।

संघको छैठौं अधिवेशनबाट गणेश ढकाल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार गिरी, उपाध्यक्षमा पे्रमकुमार कोइराला, महिला उपाध्यक्षमा चम्पादेवी खनाल सुवेदी, सचिवमा भवानीप्रसाद दंगाल, सहसचिव कृष्णप्रसाद मिश्र र कोषाध्यक्षमा अर्जुन दंगाल निर्वाचित भएका थिए ।

त्यस्तै खुल्ला सदस्यतर्फ नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाई, कृष्ण पौडेल, महिला सदस्यमा चन्द्रकला अधिकारी, चन्द्रकला भण्डारी, विन्दाकुमारी थापा र पुष्पा उप्रेती निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट देवीमाया अधिकारी, २ बाट केशव बस्नेत, ३ बाट नवराज भट्टराई, ४ बाट तिलकप्रसाद राजवंशी र ५ बाट नारायणप्रसाद भट्टराई चुनिएका थिए । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा चूडामणि ओझा र सदस्यमा प्रेमसागर सापकोटा चयन भएका थिए । कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *