Sajhamanch Archive

इलामका चारवटा पालिका पर्यटकीय गन्तव्यको सूचीमा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ ।

मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजना सार्वजनिक गरेको छ ।

देउमाईस्थित आयोजनाका लागि ५० लाख रुपैयाँ लागत साझेदारी र मन्त्रालयको ९४ लाख रुपैयाँ लागत गरी एक करोड ४४ लाख रुपैयाँ अनुमान गरिएको छ । चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपैयाँ गरी पाँच करोडको योजना अनुमान गरिएको छ ।

माई नगरपालिकाको माई पर्यटन सिटी विकास परियोजनाका लागि दुई करोड ४५ लाख रुपैयाँको लागत साझेदारीमा मन्त्रालयको चार करोड ५५ लाख रुपैयाँ लागत गरी सात करोड रुपैयाँको योजना सार्वजनिक गरिएको छ ।

यस्तै, सन्दकपुर गाउँपालिकाको माईपोखरी जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा एक करोड ५० लाख रुपैयाँको लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपैयाँ गरी पाँच करोड रुपैयाँको योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका ०७७ अनुसार लागत साझेदारीमा यी योजना सार्वजनिक गरिएको जनाएको छ । मन्त्रालयले माघ २९ गतेको निर्णयअनुसार देशभरका दुई सय पर्यटकीय गन्तव्य सूची तय गरेको हो ।

यसअघि गत वर्ष नै सरकारको सय गन्तव्य सूचीमा परेको सूर्योदय नगरपालिकाको कन्याम–अन्तु–फिक्कल सर्किटको काम अहिले धमाधम भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *