राजनीतिलाई प्रदुषित हुनबाट जोगाउन प्रतिनिधिसभा विघटन गरेको हुँः प्रधानमन्त्री ओली
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गरेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न भएको सिंहदरवारको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे उपलब्धिबारे चर्चा गरेका छन् ।
उनले सरकारको मुख्य उपलब्धिबारे चर्चा गर्नुअघि प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे प्रकाश पारेका थिए ।
उनले पार्टीभित्रबाट आफूलाई असहयोग भएपछि प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे । उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखी प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
उनले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दावी गरे ।
केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।
‘सुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा थिए, काममा व्यवधान खडा गरिएको थियो,’ उनले भने, ‘पछिल्ला एक वर्षदेखि झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलीय गठबन्धनको सरकारको जस्तो नियति व्यहोर्नु प(यो ।’
उनले एक वर्षदेखि संवैधानिक निकायहरु पदाधिकारीविहीन रहेको, संसदमा पेश भएका कयौं विधेयक छलफलमा नलगिएको गुनासोसमेत गरे । ‘बल्लतल्ल संसदीय समितिमा लगिएका विधेयक अनावश्यक छलफलका गोलचक्करमा फसिरहेका छन्,’ उनले भने, ‘राजदूत खाली छन्, नियुक्ति गर्न दिइँदैन ।’
आफ्नै दलका साथीहरुले समेत कचिङ्गल मच्चाएर सरकारका कामहरुमा अवरोध खडा गर्ने काम भएकाले नै आफूले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिएको उनले बताए ।
Comments