Sajhamanch Archive

इटहरी उपमहानगरपालिकाः दुई हप्तामा तीनवटा वडा कार्यालय शिलान्यास

Published: in स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । यहि आर्थिक वर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ ।

यसैक्रममा दुई हप्ताका बीचमा तीनवटा वडा कार्यालय भवन शिलान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिलान्यास गरिएको हो ।
आज विहान उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले वडा नम्वर ८ कार्यालय भवनको शिलान्यास गरेर दुई हप्ता बीचमा तीन वडा कार्यालय निर्माणलाई तीव्रता दिएका हुन् ।

वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गरेको २२ धुर जग्गामा वडा कार्यालय भवन शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले जग्गा उपलब्ध गराउने दाताप्रति आभार व्यक्त गरेका छन् ।

नगरप्रमुख चौधरीले चालु आर्थिक वर्षमा एक अर्बभन्दा बढीका विकास निर्माणका योजना कार्यावन्यन गरिने पनि जानकारी दिए । वडाध्यक्ष रोहित चौधरीले आफूले चुनाव ताका गरेको बाचा बमोजिम वडा कार्यालय भवन निर्माण सुरु भएकोमा खुशी व्यक्त गरे ।

नगरपालिकाका इन्जिनियर जीवन घिमिरेले ८६ लाख ३४ हजार ४०० को लागतमा दुई तले अपांगतामैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण हुने जानकारी दिएका छन् ।

वडा सदस्य खुपराज शमाले जग्गादाता सविता चौधरी र भवन निर्माणका लागि वजेट विनियोजनका लागि उपमहानगरलाई धन्यवाद दिए । ठेकदार कम्पनीका रुद्र बाँस्कोटाले निर्माण अवधि १ वर्षको भएपनि दशंै सम्ममा भवन निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

इटहरी उपमहानगरको वडा नम्वर २ को नयाँ कार्यालय भवन निर्माण भइसकेको छ । इन्जिनियर घिमिरेका अनुसार यसअघिनै ८ वटा वडा आफनै भवनमा छन । यो आर्थिक वर्षमा ८ वटा भवन निर्माण हुने छन । बाँकी ४ वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक वर्षमा निर्माण गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *