Sajhamanch Archive

कमलमा स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइँँदै

Published: in मुख्य समाचार, समाज by .

दमक । दुई वर्षअघि आगोले जलेर मृत्यु भएकी आर्थिक रुपमा विपन्न झापा कमल गाउँपालिका वडा नं ६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयको सक्रियतामा घर निर्माण शुरु गरिएको छ ।

दुई वर्षअघि कूलमायालाई बचाउन गरिएको प्रयत्नका क्रममा गठन भएको कूलमाया बचाउ अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयहरुले स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइदिने जमर्को गरेका हुन ।
सोका लागि हुकुमसिंह राईको नेतृत्वमा ९ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य तथा घर निर्माणको अभियानमा जुटेका स्थानीय हर्क रायले जानकारी दिए ।

स्वर्गीय कुलमायाको बाबु बाजे वर्षौंदेखि स्थानीय नेपाल परिवारको घर जग्गा रेखदेखका लागि बसेका र घरबिहिन अवस्थामा कूलमाया र उनकी आमाले समेत मृत्युवरण गर्नुपरेकोले उनको परिवारका लागि सो ठाउँको आँपडाडामा आवासको व्यवस्था मिलाउने प्रयत्न स्वरुप घर निर्माण थालिएको समितिले जनाएको छ ।

समितिका संयोजक राईका अनुसार नेपाल परिवारबाट बस्नेत परिवारलाई १० धुर जग्गा उपलब्ध गराइएको छ । सोही जग्गामा समितिको सक्रियतामा सहयोग जुटाएर स्वर्गीय कूलमायाका बुबा देवी बहादुर, छोरा विदुरसहितको परिवारको बसोबासका लागि चार कोठाको घर बनाउन शुरु गरिएको संयोजक राईले बताए ।

समितिले सबैको सहयोगमा घर निर्माण सम्पन्न गरेर बस्नेत परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । कूलमायाको बचाउका लागि दाताहरुबाट दुई बर्ष अघिनै जुटाइएको करिब साढे ३ लाख रुपैयाँ भने बैंक खातामा जम्मा गरिएको छ ।

सो रकमको ब्याज वापतको रकम निकालेर यस अघि देवी बहादुरका छोरा विदुरको उपचारका लागि दिइएको र घर निर्माण अन्य दाताहरुबाटै पूरा गरी बस्नेत परिवारको जिविकोपार्जनका लागिसो रकम समेत हस्तान्तरण गरिने सदस्य रायले बताए ।

समितिले आर्थिक रुपमा विपन्न बस्नेत परिवारको घर निर्माणमा सहयोग गरेर सहज जिवनयापनको वातावरण बनाउन सहयोगका लागि सबै संग आव्हान समेत गरेको छ ।

कूलमायालाई बचाउन नसकेको क्षण

जन्मिदै सुस्त मनस्थिती जस्तो लक्षण भएकी कुलमाया गाईलाई खोले पकाउने क्रममा आगोमा परेकी थिइन् । स्थानीय नेपाल परिवारको घर र खेतबारी सम्हालेर जिविकोपार्जन गर्दै आएको कुलमायाको परिवारमा १२ वर्षअघि उनकी आमाको उच्च रक्तचापका कारण गर्भावस्थामा ज्यान गएको थियो ।

कुलमायालाई भने घट्ना लगत्तै तत्काल स्थानीय अस्पतालहरुमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आर्थिक अभावकै कारण पूर्ण उपचार नगराई उनको परिवारले १२ दिनपछि अस्पतालमै सहयोग रकम उठाएर घर सम्म ल्याइएको थियो । धरानबाट फर्किएपछि उनको शरिर जलेर कुहिन थालेको थियो ।

शरिर पोलेर छटपटाएकी उनलाई थप उपचारका लागि कुलमाया बचाउ अभियान सञ्चालन गरिएको थियो । हुकुमसिंह राईको नेतृत्वमा रहेको सो अभियानको पहलमा दमकस्थित एडभान्स अस्पतालमा डा. सन्तोष सुवेदीको नेतृत्वको चिकित्सकहरुको टिमले गरेको अथक प्रयासका बाबजुद उनलाई गुमाउनु परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *