अदुवाको भाउ घटेसँगै इलामका किसान निरास
Published: (Updated: )
by .इलाम। अदुवाको भाउ घटेसँगै इलामका किसान निराशा देखिएका छन् । गत वर्ष प्रतिमन(४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् ।
गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।
गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेको बताए । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनालले जनाए।
अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउँछन् ।
अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।
गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् ।
विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलको भनाइ छ ।
Comments