Sajhamanch Archive

बुद्धशान्तिमा ४१ हजारलाई हात्तीपाइलेको औषधी खुवाइने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ४१ हजारभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने भएको छ ।

यही फागुन २९ गते शनिबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधी र जुकाको औषधी एकसाथ खुवाउने कार्यक्रम तय भएको हो । गाउँपालिकाका पदाधिकारी, महिला स्वयंम्सेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई अभिमुखीकरण गरी औषधी खुवाउने तयारी भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् ।

सो अभियानमा बुद्धशान्तिको जनसंख्या ४७ हजार ७५३ जना रहेकोमध्ये ४१ हजार ८८२ जनालाई औषधि खुवाइनेछ । २ वर्षदेखि ५ वर्षसम्मका बालबालिका २ हजार ३३९, ६ वर्षदेखि १४ वर्षसम्मका १० हजार र १४ वर्ष उमेर समूहदेखि माथिको जनसंख्या २९ हजार ५४३ जना रहेको गाउँपालिकासँग तथ्याङ्क छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले औषधी खुवाउन ३० जना स्वास्थ्यकर्मी र २६ जना स्वास्थ्य स्वयम्सेविका खटाउने जनाइएको छ । फागुन २९ गते पहिलो दिन केन्द्रमा खुवाउने र ३० गते कार्यविभाजन अनुसार टोलटोलमा घरदैलो कार्यक्रम गरी खुवाउने र अरु बाँकी दिन कहीँ कतै छुटेको भएमा प्रत्येक वडामा रहेको स्वाथ्य इकाईमा गएरसमेत खान सकिने बताइएको छ ।

बुद्धशान्ति गाउँपालिका पनि हात्तीपाइले रोगको सम्भावित क्षेत्र रहेको क्षेत्र हो । फाइलेरिया नामक परजिवी क्यूलेक्स पोथी लामखुट्टेले टोकेर सर्ने भएकाले अहिले सरेको किटाणुले २० वर्षपछि असर देखाउने हुँदा समय मै सचेत रहन आग्रहसमेत गरिएको छ । अघिल्लो वर्ष बुद्धशान्ति गाउँपालिकामा ४१ हजार ६१० जनाले हत्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *