Sajhamanch Archive

विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौँ । साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै विद्युतीय बस खरिदमा रोक लगाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले जुन प्रक्रियामा काम रोकिएको छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद प्रक्रिया अघि बढाउन लागिएको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए । उनले भने, “करिब दुुई वर्षअघि जुन विन्दुका काम रोकिएको थियो त्यहीँबाट काम अघि बढाउन लागेका छौँ, त्यतिबेला स्पेसिफिकेसन डाफ्टको प्रक्रियामा थियौँ अब काम अघि बढ्छ । ”

करिब दुई वर्षअघि तीन सयवटा विद्युुतीय बस खरिद गर्न साझा यातायातलाई सरकारले तीन अर्ब रुपियाँ उपलब्ध गराएको थियो । सम्झौता अनुसार काम हुन नसकेको भन्दै मन्त्रालयले साझा यातायातलाई दिएको सो रकम फिर्ता मागेको थियो । तर साझाले सो रकम फिर्ता भने गरेको थिएन । काम अघि नबढाउन मन्त्रालयले पत्राचार गरेपछि रोकिएको थियो ।

पहिलो चारणमा करिब ५० वटा बस ल्याउने तयारी साझाको छ । त्यसअघि बस परीक्षणका लागि पनि सञ्चालन गरिने छ । सदस्य तुलाधरले भने, “स्पेसिफिकेसन तयार भएपछि बोलपत्र आह्वान गर्छौं, बोलपत्रको प्रक्रियागत समय लाग्छ नै, सम्झौता भइसकेर बस अर्डर गरिसकपछि पनि निर्माणको निश्चित अवधि हुन्छ, सबै प्रक्रिया पूरा गर्दा समय लाग्छ । ”

इन्धनको बचत र वातावरणमैत्री भएकाले सरकारले विद्युतीय सवारी साधन प्रोत्साहनको नीति लिएको छ । तीन वर्षअघि सरकार आफैले विद्युतीय बस खरिद गर्ने योजना बनाएको थियो । वार्षिक बजेटमै विद्युतीय बसलाई प्राथमिकता दिनुका साथै सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशत पुर्याउने घोषणा गरिएको थियो ।

विद्युतीय बसका लागि ग्लोबल्ली काम गर्नुपर्ने भएकाले पनि समय लागेको मन्त्रलायले जनाएको छ । नेपालका लािग नयाँ विषय र प्रविधि भएकाले पनि अध्ययनको समय लागेको मन्त्रालयको दाबी छ । पेट्रोल डिजेलबाट चल्ने गाडीलाई विस्तारै विस्थापन गरी विद्युतीय बसलाई प्रचलनमा ल्याउने सरकारको नीति छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *