पाँच पत्रकार पुरस्कृत गर्दै क्षितिज नाट्य समूहको १७औं वार्षिकोत्सव सम्पन्न
Published:
by .बिर्तामोड । झापाका पाँचजना पत्रकार पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नेपाली रङ्मञ्चीय कलाको उन्नयन र प्रचारमा योगदान पुरयाएको भन्दै झापाको क्षितिज नाट्य समूहले झापाली पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
सोमबार विर्तामोडको आदर्श व्याङ्वेटमा समूहले आयोजना गरेको १७औं वार्षिकोत्सव तथा छैठौं अधिवेशनको अवसर पारेर झापाका सिद्धहस्त पत्रकार एपी वान टेलिभिजनका मेची अञ्चल व्यूरो प्रमुख तथा स्पीक कर्नर नेपालका सम्पादक सुब्रत न्यौपाने, माउन्टेन टेलिभिजन तथा राससका झापा सम्बाददाता सुरेन्द्र भयडारी, नयाँपत्रिका राष्ट्रिय दैनिक तथा जनता टेलिभिजनका झापा सम्बाददाता लक्ष्मी काफ्ले, सूर्योदय टेलिभिजन तथा सेल्फी खबर डट कमका रमेश तिवारी र पूर्वाञ्चल दैनिक तथा कारोबार दैनिकमा आबद्ध तुलसीप्रसाद निरौला पुरस्कृत तथा सम्मानित भएका हुन् ।
समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुरस्कृत तथा सम्मानित पत्रकारहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । उनले कलाकारिताका लागि झापा उर्वर भूमि भएको भन्दै नेपाली कला–संस्कृतिको प्रवद्र्धनमा क्षितिज नाट्य समूहको अहम भूमिका रहेको बताए ।
सञ्चारकर्मी लीला अनमोलले सञ्चालन गरेको समारोहमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधव कल्पितले गएको वर्ष विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्थाको सहयोगमा क्षितिज नाट्य समूहले दर्जनौं चेतनामूलक, सामाजिक, सांस्कृतिक रङ्गमञ्चीय तथा सडक नाटक मञ्चन गरेको जानकारी दिए ।
उनले झापाको विर्तामोडमा अत्याधुनिक रङ्गमञ्च निर्माण गर्न समूह लागिपरेको जनाउँदै त्यसका लागि बिर्तामोड निवासी दानवीर मनोज निरौलाले ३ कट्ठा जग्गा निःशुल्क प्रदान गरेको र भवन निर्माणका लागि समूहका सदस्य बिर्तामोड निवासी सुजना खतिवडा, माया सिटौला, बबिता पराजुली, प्रकाश गौतम, सुभास बुढाथोकी, ताराकुमार प्रसाईं, सविता रेग्मी, आत्मज्ञान जनजागरण अभियान झापाकी संस्थापक अध्यक्ष शान्ता काफ्ले तथा मेचीनगर निवासी सुरेश निरौलाले आ–आफ्नो तर्फबाट ५१–५१ हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए । यस वर्ष एक करोड दुई लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष कल्पितले सहयोग गर्न आह्वान पनि गरेका छन् ।
समूहले विभिन्न विधामा स्रष्टाहरुलाई सम्मान गर्ने अभियानअनुरुप अक्षयकोष स्थापना गर्न रकम पनि संकलन शुरु गरेको पनि उनले बताए । समारोहमा विभन्न सांगीतिक प्रस्तुतिका साथै नाटकहरु पनि प्रस्तुत गरिएको थियो ।
Comments