Sajhamanch Archive

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

कांग्रेस तीनपाटन गतिद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले पाँच वर्ष कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेड नदिएको बताए।उनले प्रतिपक्षमा बसेको कांग्रेस प्रतिपक्षमै बस्ने देशलाई निकास दिन सक्नेगरी मात्रै कांग्रेस अगाडि बढ्ने बताए।

‘हामी सरकारमा जाने हो तर अहिले होइन, अब आउने चुनावमा सानका साथ जाने हो।कम्युनिस्ट सरकारले छोडेको भाग मात्र होइन आफैंले निर्माण गरेर हो। तपाईहरू नअलमलिनुस् देश निर्वाचनमा गयो। हामीले पहिलेनै भनेका हौं, प्रधानमन्त्रीले पुस ५ गते सदन विघटन गरेसँगै देश निर्वाचनमा गयो तर अदालतले प्रधानमन्त्रीकै सिफारिसलाई सदर गरेको भए न संसद् रहन्थ्यो न त चुनाव हुन्थ्यो तर अब चुनाव हुन्छ। अब संविधानको ट्र्याकबाट चुनावमा जान्छ, विधिले जान्छ ।’ उनले कांग्रेसले सरकार चलाउने म्यान्डेड नपाएको र कम्युनिस्टसँग सरकार चलाउने क्षमता नभएको बताए।

सर्वोच्च अदालतको आदेशपछि देशको अवस्था फेरिए पनि कम्युनिस्टको तमासा भने नफेरिएको उनको भनाइ थियो।‘एकथरि कम्युनिस्टले बढी लड्डु खाएर पखाला लागेको छ अर्काथरिलाई लड्डु खान पाएनौं भन्ने चिन्ता छ,’ उनले भने, ‘एकथरि उत्ताउलो छ अर्कोथरि आत्तिएको छ। तर कांग्रेसलाई उत्ताउलो हुने र आत्तिने सुविधा छैन।’ केपी ओली सरकारले देशको गाडीलाई मोडबाट खसालिदिएको र सर्वोच्चले त्सलाई रोडमा ल्याउने काम गरे पनि अझै धेरै मोड भएको सडक रहेको उनले बताए। ‘मोड धेरै छन्, त्यस्तो सडकमा गाडी हाक्ने चालक सनकी छन्,’ उनले भने।

सर्वोच्चअदालतले देशलाई न्याय दिएको भन्दै न्यायाधीश र पूर्वन्यायाधीशलाई सम्मान गर्ने बताए। अहिलेको अवस्थामा नेपालको कम्युनिस्ट पार्टी छ भन्ने अवस्था जनतालाई नभएको बताए। जनतालाई झुट आश्वासन दिएर सरकारमा पाँच वर्षको लागि गएको पार्टीले जनताको कुनै काम गर्न नसकेको धारणा उनले राखे। कम्युस्टि पार्टीको सूर्य चिह्नमा विवाद भएको भन्दै केपी ओलीतिर बादल रहेको र प्रचण्ड–माधव नेपालमा प्रचण्ड गर्मी भएकाले दुवैलाई कांग्रेसले निकास दिने बताए।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *