Sajhamanch Archive

प्रवीण बास्तोला मृत्यु प्रकरण ; थप एकजना पक्राउ

Published: in समाज by .

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।

परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका ७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई सरकारी वकिल कार्यालयमार्फत आज मङ्गलबार नै अदालतमा पेस गर्ने तयारी छ ।

मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका ६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरी आइतबार साँझ पक्राउ परेका थिए ।

यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी ९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन् । उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन् । फरार भएकाहरुको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *