इटहरीमा ३० करोडको लागतमा वाटर पार्क
Published:
by .विराटनगर । सुनसरीको इटहरीमा ३० करोड रुपैयाँको लागतमा यिपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क सञ्चालनमा आएको छ ।
इटहरी उपमहानगरपालिकाको तालतलैया क्षेत्रनजिकै ६ बिघा क्षेत्रफलमा पार्क सञ्चालित छ । थप एक बिघा दुई कट्ठा महेन्द्र माविको जग्गा २५ वर्षसम्म ठेक्कामा लिएर अरु संरचना थप गर्ने सञ्चालकको भनाइ छ । त्यसमा अलग्गै स्विमिङ पुल र जिम हल थपिने सञ्चालक ज्ञानविक्रम शाहले बताए । पार्क निर्माणमा नेपाल इन्भेस्टमेन्ट बैंकको ऋण लगानी रहेको छ ।
चारजनाको संयुक्त लगानीमा पार्क सुरु गरिएको हो । शाहसहित कृष्ण बस्नेत, जगत बस्नेत र भीमबहादुर पौडेल लगानीकर्ता रहेका छन् । पौडेल इटहरीका व्यवसायी हुन् । कृष्ण नेपाल प्रहरीका पूर्वएआईजी र शाह पूर्वडीआईजी हुन् । जगतले भने यसअघि काठमाडौंको चोभारमा वाटर पार्क सञ्चालन गरिसकेका छन् ।
तराईमा पनि खोल्न सकिन्छ कि भनेर अध्ययन भएपछि इटहरीलाई केन्द्र मानेर लगानी गरिएको सञ्चालक पौडेलले बताए । धरान र विराटनगरको केन्द्र मानिएको इटहरीमा भारतका पर्यटकसमेत तान्न सकिने पौडेलको भनाइ छ ।
वाटर पार्कमा जिपलाइन टावर, वाटरफल एम्युजमेन्ट, बालबालिकाको लागि सानो रेलसमेत सञ्चालन गरिएको छ । पार्कमा वेभपुल, स्नो डान्स, आर्टिफिसियल जुरासिक आइल्यान्डसमेत छ । डुंगामा बसेर आइल्यान्डको फन्को मार्न सकिन्छ ।
बाह्रखरी
Comments