Sajhamanch Archive

देश विकसित र समृद्ध बन्न यातायात क्षेत्र आधारभूत पूर्वाधार : मन्त्री नेम्बाङ्ग

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालीगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको जनाएका छन् ।

भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरीय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले यस्तो बताएका हुन् ।

जल यातायात सम्बन्धी विभिन्न सन्धी सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको मन्त्री नेम्बाङ्गको भनाई छ ।

कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै मन्त्री नेम्बाङ्गले नेपालले यातायातको सबै क्षेत्र हवाई जहाज, रेल, सडक यायातात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको प्रष्ट पारेका छन् । मन्त्री नेम्बाङ्गले नेपाल भूपरिवेष्ठितबाट भूजडित देशको रुपमा विकसित भएको समेत जनाएका छन् ।

जल यातायात सञ्चालन सम्बन्धी नेपालको प्रयास निक्कै पुरानो भएको बताउँदै मन्त्री नेम्बाङ्गले भनेका छन्, ‘यो कसै कसैका लागि आश्चर्यको विषय हुन सक्छ कि नेपालले पानीजहाज सम्बन्धी ऐन सन् १९७१ मा पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज सञ्चालन हुन सकेन । निक्कै लामो समय पछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको हो ।’

तीन दिनसम्म चल्ने मारिटाइम इण्डिया समिट २०२१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *