Sajhamanch Archive

चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद

Published: in विश्व समाचार, स्वास्थ्य by .

बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् ।

चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन हजार डोज नक्कली खोपसहित फेला पारिएको थियो । अफ्रिकामा तीन चिनियाँ र एकजना जामिबियनलाई एउटा वेयरहाउसबाट पक्राउ गरिएको हो । जहाँ दुई हजार चार सय नक्कली डोज भेटिएको थियो ।

इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन ९इन्टरपोल०मा यसबाहेक अन्य थुप्रै नक्कली खोपका नेटवर्कहरुबारे खबर प्राप्त भइरहेको रिपोर्ट गरिएको छ । कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा २५ लाख मानिसको ज्यान लिइसकेको छ भने ११ करोडभन्दा धेरै संक्रमित भइसकेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक छ । योसँगै कोभिडसम्बन्धी अपराधहरु पनि बढ्दो रूपमा फेला परिरहेकाले इन्टरपोलले सावधानीपूर्वक अनुसन्धान गरिरहेको छ ।

नक्कली खोपको नेटवर्क पत्ता लगाएको घोषणासँगै इन्टरपोलले हाल कुनै पनि स्वीकृत खोप अनलाइन खरिद गर्नका लागि उपलब्ध नभएको जनाएको छ । “कुनै पनि खोप यदि वेबसाइटहरुमा या डार्कवेबमा विज्ञापन गरिएको छ भने त्यो अवैध हुनेछ र परीक्षण नगरिएको खोप हुन सक्ने हुँदा खतरनाक हुनेछ,” इन्टरपोलले भनेको छ ।

महामारी अन्त्य गर्न खोपको भूमिका महत्वपूर्ण हुने भएकाले विश्वव्यापी रूपमा प्रतिस्पर्धा बढेको छ । विकसित खोपहरु स्वीकृत हुन हतारिरहेको अवस्था छ । यसले पनि अपराधीहरुलाई मौका दिइरहेको छ ।

चिनियाँ सुरक्षा मन्त्रालयका प्रवक्ताले खोपसम्बन्धी अपराधहरुलाई रोक्न अभियान सञ्चालन गरिने र इन्टरपोल तथा विभिन्न देशका प्रहरीहरुसँगको सहयोगमा कदम उठाउने बताएका छन् ।

गत महिना चीनले लाखौँ डलर बराबरको ठगीका एकजना नेतृत्वकर्ता पत्ता लगाएको थियो । जसले ‘सलाइन सल्युसन’ र पानी ९मिनिरल वाटर०लाई मिसाएर कोभिड–१९ विरुद्धको नक्कली खोप बनाएका थिए । कङ थर भएका ती व्यक्तिले वास्तविक खोपको प्याकेजिङ पत्ता लगाएर ५८ हजारभन्दा धेरै नक्कली डोज निर्माण गरेका थिए । अदालतका अनुसार कङ र उनको टोलीले सलाइन र पानी मिसाइ बनाएको नक्कली सुईबाट २७ लाख डलरभन्दा धेरै नाफा कमायो । नक्कली खोपहरु विदेश निर्यात गरिएको पनि पाइएको थियो । तर, कता निर्यात गरियो भन्ने थाहा हुन सकेको थिएन ।

त्यस्तै, मेक्सिकोमा पनि गएको महिना प्रहरीले उत्तरतर्फको सिमानाबाट नक्कली कोभिड–१९ विरुद्धको खोप तस्कारी गर्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो । प्रतिखोप दुई हजार डलरमा बिक्री गर्न लागिएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *