सहकारी सेवा केन्द्र थपको स्वीकृति तत्कालका लागि स्थगितः रजिष्ट्रार निरौलाले
Published:
by .सतासी बहुमुखी सहकारीको स्थापना दिवसमा दर्जनौंलाई सम्मान र पुरस्कार
बिर्तामोड । प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्न थप सेवा केन्द्र स्वीकृति तथा कार्यक्षेत्र बिस्तार सम्बन्धी मापदण्ड बनाउँदै गरिएकाले हाललाई सो सेवा स्थगित रहेको बताएका छन् ।
झापाको बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्थाको २४औं स्थापना दिवस समारोहका प्रमुख अतिथि निरौलाले सो बाहेक सहकारीद्वारा उत्पादित बस्तुहरु खरिद बिक्री गर्न, संकलन गर्न र वितरण गर्न सहकारीलाई सदैव खुल्ला रहने पनि अवगत गराए ।
सहकारी भन्ने वित्तिकै बचत तथा ऋणको कारोबारमा हात हाल्नुपर्छ भन्ने नभई उद्देश्य अनुसारको मूल कारोबार गरेर वित्त व्यवस्थापनका लागिमात्र बचतको कारोबार गर्नुपर्ने पनि रजिष्ट्रार निरौलाले सुझाव दिएका छन् । झापाको सहकारी अभियानलाई आफूले नजिकबाट नियालिरहेको जनाउँदै रजिष्ट्रार निरौलाले अर्बौंको कारोबार भएपनि सदस्यहरु मोटाएनन् भने सहकारीले सार्थकता नपाउने भनाई राखे ।
संस्थाको २४औं स्थापना दिवसमा झापाका अगुवा सहकारी अभियानकर्मी हरिकिशोर आचार्यलाई नगदसहित सम्मान गरिएको छ । सहकारी व्यक्तित्वका रुपमा सम्मानित आचार्यले आफूलाई सम्मान गरेर सतासीले दुई दशक पुरानो दिनको स्मरण गराएको बताए । कर्मचारीले आर्थिक हिनामिना गरेर बन्द भएको सहकारीमा यो टिमलाई प्रवेश गराएर संस्थाले पुनः जीवन पाउँदा आजको दिन आएको आचार्यको भनाई छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संस्थाको वर्तमान वित्तीय अवस्था, कारोबार तथा कार्यालयहरुबारे जानकारी गराएका थिए । उनले सहकारी पसलको सफलताका लागि आम उपभोक्ता एवम् शुभेच्छुकहरुलाई धन्यवाद पनि दिए ।
संस्थाको २४औं स्थापना दिवस परेकाले प्रमुख अतिथिको हातबाट केक काटेर वितरण गरिएको थियो । सो अवसरमा वर्ष उत्कृष्ट कर्मचारीहरु, शाखा, बचतकर्ता, असल ऋणि एवम् नियमित खरिदकर्ताहरु गरी दर्जनौंलाई पुरस्कार रकमसहित प्रशंशापत्र प्रदान गरिएको थियो ।
यो वर्ष शारदा न्यौपानेलाई उत्कृष्ट कार्यालय प्रमुख घोषित गरी पुरस्कृत गरियो भने उत्कृष्ट शाखाको पुरस्कार पनि न्यौपानेले नेतृत्व गरेको हल्दिबारी शाखालाई प्रदान गरिएको छ ।
Comments