पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद भएन : प्रधानमन्त्री ओली
Published:
by .काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार अमर्यादित गतिविधि भएको दाबी गरे ।
सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाए । उनले अध्यादेश फेल गराउन पनि चुनौती दिएका छन् ।
यसैबीच ओलीले सर्वोच्च अदालतले आइतवार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताए ।
आइतवार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो ? भनेर प्रश्न गरेका थिए, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतवार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गरे । उनले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोधेका छन् ।
सर्वोच्चले आइतवार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र बिउँताइदिएको छ ।
Comments