Sajhamanch Archive

एनएमसी २८ वर्षमा प्रवेशः ४२ ठाउँमा स्थपना दिवस समारोह सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी आजदेखि २८औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई काँकरभिट्टाको एयटा सानो कोठाबाट कारोबार सुरु गरेको एनएमसीले झापा जिल्लाभर सेवा विस्तार गरेको छ भने भर्खरैमात्र छिमेकी जिल्लामा पनि सेवा केन्द्र खोलेर कारोबार गर्ने अनुमति पाएको छ ।

संस्था स्थापना दिवसको अवसरमा आज झापाका ४२ स्थानमा एकै समयमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरिएको हो । एनएमसीका ४० वटा बैंकिङ कार्यालय, एनएमसी डेरी र एकीकृत नमूना कृषि फर्ममा स्थापना दिवस मनाइएको हो ।

स्थापना समारोहका लागि संस्थाले केन्द्रीय प्रतिनिधि तोकेर विशेष मन्तव्यमार्फत संस्थाको वस्तुस्थिति अवगत गराएको थियो । सोही अन्तरगत बिर्तामोड कार्यालयमा सम्पन्न स्थापना दिवस समारोहमा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले विशेष सम्बोधन गरेका थिए ।

मन्तव्यका क्रममा कोइरालाले संस्थाको नीति बनाउने सञ्चालक र कार्यान्वयन गर्ने कर्मचारी दुवै पक्ष सक्रिय भएका कारण संस्था आजको स्थितिमा पुगेको बताए । संस्थाका कर्मचारीहरु कार्यालयमा प्रवेश गर्ने समय निश्चित भएपनि दैनिक काम सकेर घर जाने समय निश्चित हुँदैन, कारण संस्थाको कामले कर्मचारीहरु ब्यस्त हुनु भएकाले नै प्रगति गरेको उनको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष कोइरालाले संस्थाको वर्तमान वित्तीय अवस्था, बैंकिङ कार्यालयमार्फत भइरहेको वित्तीय कारोबारका बारेमा बोल्दै एनएमसीका पाँचवटै कारोबारको संक्षिप्त जानकारी गराएका थिए ।

बिर्तामोड कार्यालयका प्रमुख होमनाथ मैनाली (विकास)ले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य पदमप्रसाद सुवेदीले गरेका थिए ।

स्थापना दिवस समारोहमा बिर्तामोड कार्यालयका कर्जा विभाग प्रमुख कल्पना थापाले सहभागीहरुलाई शाब्दिक स्वागत गरेकी थिइन् भने इकाई संयोजक डम्बरबिक्रम काफ्लेले कविता वाचन गरेका थिए । यसरी नै बजार प्रतिनिधि लोकप्रसाद चापागाईं र इकाइ नं. ७÷८ का संयोजक पर्शुराम मगरले संस्थामा रहँदाको अनुभव अनुभूति पस्किएका थिए ।

यसैबीच, एनएमसीको चौथो व्यवसाय एनएमसी कोपसप (सहकारी पसल)मा आजदेखि चैत ५ गतेसम्म सामान खरिद गर्दा दुईदेखि २५ प्रतिशतसम्म छुट सुविधा दिइएको छ ।

एनएमसी कोपसपका प्रशासनिक प्रमुख नवीन भण्डारीका अनुसार संस्था २८औं वर्ष प्रवेशका अवसरमा ९ वटै पसलबाट यो सुविधा पाउने व्यवस्था मिलाइएको छ । वस्तुको प्रकारका आधारमा छुटको दर फरक फरक बनाइएको तथा एनएमसी कोपसपका सबै उपभोक्ताले यो सुविधा पाउने भण्डारीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *