Sajhamanch Archive

एसिड आक्रमणको दाग मेरो शक्तिको प्रतीक; मुस्कान खातुन

Published: in समाज by .

काठमाडौं । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ ।

गएराति आयोजित भर्चुअल कार्यक्रममार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक घोषणा हुनु अघि पत्रकारसँगको भेटघाटमा मुस्कानले एसिड आक्रमणका कारण अनुहारमा बसेको दागलाई चोटको रुपमा नभएर शक्तिको प्रतीक बनाएर अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘यही दागको कारण आज मलाई विश्वले चिनेको छ । पीडकले दिएको यो दागलाई अब कमजोरीको रुपमा नभएर शक्तिको रुपमा लिएर अघि बढ्नेछु ।’

तेजाब हमला अन्त्यका लागि लक्षित उनको कार्यका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा मुस्कानले पुरस्कार व्यक्तिगत रुपमा नभएर सबै नेपालीले प्राप्त गरेको बताइन् । उनले भनिन्, ‘पीडकलाई कडा कारबाही हुनुपर्छ भनेर आवाज उठाएँ । सबैको साथले कानुन पनि बन्यो । त्यसैले यो पुरस्कार हामी सबैको हो ।’

अमेरिकी राजदूत रेन्डी बेरीले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्न तथा रसायनको बिक्रीलाई नियमन गर्नका लागि अध्यादेश जारी गराउन मुस्कानको महत्त्वपूर्ण भूमिकाको कारण पुरस्कृत गरिएको बताए । उनले भने ‘मुस्कानले अपराधीलाई दण्डित गर्न कडा सजायको माग गर्दै उठाएको आवाजले महत्वपूर्ण भूमिका खेलेको छ । भविष्यमा पनि न्यायको लागि यस्तै आवाज उठिरहोस् ।’

शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए ।

पुरस्कार कार्यक्रम अमेरिकी दूतावासको फेसबुक पेजबाट लाइभ गरिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *