Sajhamanch Archive

महेन्द्ररत्न माविका छात्रालाई छात्रामैत्री शौचालय हस्तान्तरण

Published: in शिक्षा, समाज, स्वास्थ्य by .

बिर्तामोड । नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनाबारी भएको समयमा विद्यालय नजाने घटना नयाँ होइन । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा विद्यालयले सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र शौचालयकोसमेत उचित व्यवस्था नहुँदा विद्यालय छाड्नु पर्ने अवस्था कायमै छ ।

यही यथार्थलाई आत्मसाथ गरी गर्दै रोटरी क्लब अफ बिर्तामोडले झण्डै दश लाख रुपैयाँ खर्च गरी यहाँस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरिदिएको छ । कतिपय विद्यालयमा छात्रा मैत्री शौचालय नहुनु, शौचालय भएपनि व्यवस्थित र सुरक्षित नहुँदा विद्यालय गएका किशोरीहरुलाई समस्या हुने गरेको मनन गरी यो अवधारणा ल्याइएको रोटरी इन्टरनेशनल डिस्ट्रक ३२९२ का डिस्ट्रिक गर्भनर इलेक्ट सन्तोष रिजालको भनाई छ ।

बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयसहित महालक्ष्मी विकास बैंक, नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चालआली, रोडट्याक क्लब अफ बिर्तामोडको आर्थिक सहयोगमा रोटरी क्लव अफ बिर्तामोडले छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरिदिएको हो ।

किशोरीहरुलाई महिनाबारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने गरीको व्यवस्थासहितको नयाँ प्रविधिको शौचालय निर्माण गरिएको विद्यालयलाई शौचालय हस्तान्तरण समारोहमा रोटरी क्लव अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट बिनोद बस्नेतले बताए ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण समयमा शौचालय निर्माण गर्न नसकिएको बताउँदै रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले ढिला गरी शौचालय तयार गरिए पनि यो आधुनिक र पूर्णरुपमा अपाङ्ग मैत्री रहेको प्रष्ट पारे ।

शौचालय हस्तान्तरण कार्यक्रममा शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्की, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेपाली सेनाको श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंग थापा, रोट्रयाक क्लब अफ बिर्तामोडका निर्वतमान अध्यक्ष राज मुखिया र अध्यक्ष प्रवास थापा मगरलाई सम्मान गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *