Sajhamanch Archive

सेनालाई घिसारेर विवादमा ल्याउन खोज्नेसँग सतर्क रहनोस् ; प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन आग्रह गरे ।

कानुन उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले संस्थालाई वादविवादमा तान्नेखालका काम गर्नु उचित नहुने उनको भनाइ थियो ।

“आफ्ना संकीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्नेलगायत विभिन्नखालका प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदासयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्नेखालका कुराहरु उचाल्ने,” उनले भने, “त्यस्तो कुराहरु गर्नु हुँदैन । नेपाली जनताको चेतनालाई समय–समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरुसँग सतर्क हुनुपर्छ ।”

सरकार शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोहीअनुसार प्रतिरक्षा र सुरक्षालगायत नीति तय गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखन्डनवादको पनि अन्त्य भएको बताए ।

उनले देश राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाइमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरु हटेको भन्दै अब सजिलै समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *