कांग्रेसको पौडेल पक्ष भेला; प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष
Published:
by .काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सम्पन्न भएको छ । आज महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि पार्टीले अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
जनता समाजवादी पार्टी जसपाले सत्तासाझेदारीका विषयमा छलफल थालेपछि त्यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सभापतिले डाकेको बैठकमा जानुअघि पौडेल पक्षले आफ्नो समूहको एक मत बनाउन गृहकार्य गरेको हो
पौडेल पक्षले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले त्यही प्रतिनिधिसभा पुनःस्थापित भएपछि पनि राजीनामा गरेर नैतिकता नदेखाएको भन्दै अनैतिक नेतृत्व विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पौडेल पक्षले ओलीको विकल्पका लागि आफ्नो वा अरु कसैको नेतृत्वका लागि पनि लचक हुनुपर्ने धारणा बनाएको छ ।
जनता समाजवादी पार्टीले पहिलोपटक मधेसी समुदायबाट पनि प्रधानमन्त्री बनाउने अवसर आएको हुनसक्ने भन्दै प्रमुख पार्टीसँग सरकारको विकल्पको खोजीका लागि वार्ता थालेको छ । जसपाले आफ्ना नेता महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा स्वीकार गरे आफैँ सरकार बनाउने पनि पहल थालेको छ । यस्तो बेला पौडेल पक्षको भेलाले निकालेकै जस्तो निस्कर्ष कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि गरेमा फरक अवस्था निर्माण हुने अपेक्षा गरिएको छ ।
बाह्रखरी
Comments