Sajhamanch Archive

झापा स्पोर्टस् अवार्डका वर्ष उत्कृष्ट खेलाडीः फुटबलका अनन्त र उसुकी जुनी

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको चौथो झापा स्पोर्टस् अवार्डमा अनन्त र जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई २०७६ सालमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले वर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो ।

फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पारेका हुन् । अवार्डको महिलातर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित हुँदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन् । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन् ।

यस्तै बर्ष उत्कृष्ट खेलाडी (युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन् ।

त्यस्तै बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङ्देन लामालाई पछि पारे ।

यस्तै पिपुल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन् । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कु“वरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे ।

त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए ।

२०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *