त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण भयो
Published:
by .काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ हस्पिटलमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।
काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा डा. रमेश सिंह भण्डारीले जानकारी दिए । उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा. भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।
प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको डा. भण्डारीले बताए ।
मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक वर्ष यी दुवै सेवा रोकिएका थिए । हाल आएर यो सेवा सुरु भएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।
अनलाइनखबर
Comments