Sajhamanch Archive

कांग्रेस सभापतिको उदासीनता रहस्यमयी ; नेता पौडेल

Published: in राजनीति by .

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी भएको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा कांग्रेस निर्णयमा पुग्न आफूले सुझाव दिएको तर सभापति देउवाले निर्णय गर्न नसक्नुलाई उनले रहसयमयी रहेको संकेत गरेका हुन् ।

मंगलबार पोखरामा प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित शान्ती पत्रकारिता पुरस्कार हस्तान्तरण कार्यक्रममा पुगेका पौडेलले छिटो निर्णय गर्न र देशलाई निकास दिन देउवालाई आग्रह समेत गरे ।

उनले भने, “अहिले कांग्रेसलाई अनिर्णयको बन्दी बनेको आरोप लाग्न थालेको छ । हाम्रा सभापतिको उदासिनता भन्ने कि के भन्ने मलाइ रहस्यमय लगेको छ । म त पहिले सुरुदेखी नै, कांग्रेस भन्ने पार्टी संसदमा सानो भए पनि नेपालको राजनीतिमा यो पार्टीको अत्यन्त ठूलो भूमिका रहेको छ ।”

अविश्वास प्रस्ताद दर्ता भएका वाग्मती र प्रदेश नम्बर–१ तथा संघमा रहेको केपी ओली सरकार गिराउन कांग्रेसले ठोस निर्णय गर्नुपर्नेमा देउवाले त्यसो नगरेको उनको आरोप छ । “एक नम्बर प्रदेशमा, वाग्मतीमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मैले सभापतिलाई केन्द्र, वाग्मती र १ नम्बरको सरकार गिराइदिउँ भनेको हुँ,” उनले भने ।

अहिले देश अराजकतातर्फ उन्मुख भएको र त्यसको अन्त्य गरिनुपर्ने उनको भनाइ छ । पौडेलले भने, “राष्ट्रको राजनीतिलाई जुन अराजकतातिर लैजान खोजिएको छ, त्यसको अन्त्य गर्नुपर्छ भनेर मैले भनिरहेको छु ।”

दोधारमा नबसी जसपा, माओवादी र कांग्रेसको संयुक्त सरकार बनाउनमा ढिलाई नगर्न उनले देउवालाई सुझाव दिए । “हामी दोधारमा बस्ने हैन, जसपाका नेताहरुलाई केपी ओलीले जे–जे आश्वासन दिनुभएको छ, त्यो हामी गर्दिउँ, गर्छु भनौँ अनि माओवादीलाई पनि साथ लिएर यो सरकार ढलाइदिउँ ।
तर, अहिलेसम्म केही भएको छैन । अहिले मिडियामा पढेको छु, कांग्रेसले नेतृत्व नै लिनेबारे केही निर्णय नै गर्दैन । यस्तो स्थितिमा रहने हो भने, फेरि पनि राजनीति उल्टो बाटोतर्फ गइरहेको छ,” उनले भने ।

कांग्रेसले छिटो निर्णय नगर्दा देशमा थरिथरिका अन्तर्राष्ट्रिय शक्ति केन्द्रले खेल्न पाउने उनले संकेत गरे । “यहाँ थरिथरिका अन्तरास्ट्रिय खेल हुँदैछन् । यो खेल हामीले उनीहरुको हातमा जान दिन हुँदैन । हाम्रो प्रणाली, व्यवस्थाको रक्षा हाम्रै हातबाट हुनुपर्छ । हामीले आफ्नो निर्णय आफैं गर्न सक्छौँ भन्ने निर्णय दिन सक्नुपर्छ । अहिलेको राजनीतिलाई निकास दिनुपर्छ र त्यो काम कांग्रेसले गर्नुपर्छ, उनले भने ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *