Sajhamanch Archive

विश्व बैकले कोरोना रोकथाम र खोप अभियानका लागि ८ अर्ब रुपैँया नेपाललाई दिने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौँ । विश्व बैकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड १९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।

यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

यस महामारीले हाम्रासामु विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो, मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसको भनाइ छ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड १९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

पछिल्लो सहयोगको ९० प्रतिशत रकम कोभिड १९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले जनाएको छ ।

बाँकी रकमले कोभिड १९ खोपका पहलहरूलाई सघाउन र कोभिड १९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि यो अतिरिक्त आर्थिक सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो ।

बिहीबार नै विश्व बैंकको बोर्डले आईडामार्फत बंगलादेशका लागि ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागि ६ करोड अमेरिकी डलर(अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्डको ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोगसहित) अनुमोदित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *