Sajhamanch Archive

झापाको धान सुपरजोनमा ईंटाका लागि माटो कटानी गरिँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन नेपाल सरकारले अरबौं लगानी गरिरहेको धान सुपरजोन क्षेत्र स्थानीय सरकारका केही व्यक्तिको कमाइखाने भाँडो बन्दा ईंटा उत्पादन केन्द्रमा रूपान्तरण हुने खतरा बढेको छ ।

दक्षिणी झापाको कचनकवलमा घोषित धान सुपरजोनप्रति स्थानीय सरकार जिम्मेवार हुन नसक्दा धान खेत ईंटा उत्पादन केन्द्र निर्माण हुँदै गएको हो । धानमा भन्दा ईंटाबाट बढी फाइदा आउने भएपछि ईंटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरेका छन् । ईंटाभट्टा प्रयोजनका लागि जथाभाबी माटो खन्न थालेपछि स्थानीय किसानमा चिन्ता थपिएको हो ।

झापामा पहिलो स्थानीय तहको रूपमा सरकारले २०७० मा साविकको बनियानी, केचना र पथरिया गाविसलाई धान सुपरजोन घोषित गरेर उत्पादन बढाउन बिऊ बिजन, उपकरण, प्रविधि, सिंचाई प्रणाली लगायतमा सहयोग गर्दै करोडौं खर्च गरिसकेको छ ।

सरकारले धान सुपर जोनका लागि कचनकवल गाउँपालिकामा करोडौँ लगानी गरिसकेको छ । तर पनि स्थानीय सरकारका प्रतिनिधिहरूले सुपरजोनको मर्म बिर्संदा खेतको माटो खनेर ईंटा बनाउने सहरका व्यापारी मोटाउने अवस्था आएको हो ।

स्थानीय रतनलाल राजवंशीका अनुसार पछिल्लो समयमा कचनकवल गाउँपालिकामा धमाधम ईंँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै उद्योगीले लैजान थालेका छन् ।

उनका अनुसार उद्योगीले खेतीयोग्य जमिन बजार मूल्यभन्दा बढी खर्चेर दलाल मार्फत खरिद गरी जथाभावी माटो खन्न थालेपछि कचनकवल गाउँपालिका–६ बनियानीका किसान त्यस्तो कार्यको विरोधमा उत्रिएका छन् । तर, स्थानीय सरकारले चासो नदिँदा समस्या बढ्दै गएको बताइएको छ ।

त्यहाँको जमिनको मूल्य बिगाहाको १२ देखि १४ लाख रुपैयाँ पर्ने भएपनि उद्योगीले २० लाख रुपैयाँ भन्दा बढी खर्चेर दलाल मार्फत् खरिद गर्ने गरेका छन् । त्यसरी खरिद गरेको जमिनमा जेसिभी लगाएर माटो खन्दै भट्टामा लैजाने गरिएको प्रत्यक्षदर्शी बताउँछन् ।

संघीय सरकारले पनि सुपरजोन क्षेत्रमा खेतीबाली बाहेक अन्य प्रयोजन गर्न नपाउने गरी रोक नलगाएको कारण स्थानीय सरकारका केही व्यक्तिहरूले धान क्षेत्रमा ईंटा उद्यम सञ्चालनका लागि लचिलो भएर सहयोग गरिरहेको स्थानीयको दुखेसो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *