Sajhamanch Archive

माओवादी निकट पत्रकारहरुद्वारा प्रेस संङ्गठन झापाको पुनःगठन, संयोजकमा रेग्मी

Published: in राजनीति, समाज by .

कनकाई । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको अग्रसरतामा झापामा प्रेस संगठन पुनःगठन गरिएको छ । माधब नेपाल–प्रचण्ड समूहमा आवद्ध भएका पत्रकारहरुले एक महिना पहिलेमात्र सुब्रत न्यौपानेलाई संयोजक बनाएका थिए । तर नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पुनःजीवन दिएपछि सोही संगठनको संयोजकमा झुलन रेग्मी चयन भएका हुन् ।

शनिबार सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकमा अपग्रेड गरेको हो । यो घटनाले नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालका उतिबेलाका सदस्यहरुलाई पुनः घर फर्कन वा माओवादी केन्द्रको सदस्य बनेर जिम्मेवारी लिन मार्ग प्रसस्त गरेको छ ।

संगठनलाई थप चलायमान बनाउनका लागि नेतृत्व चयन गर्दै रणनीतिक योजना बनाएर अघि बढ्ने समेत भेलाले निर्णय गरेको सचिव उद्धव पुरीले बताएका छन् । भेलाले चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघकोे तीनै तहको निर्वाचनका लागि झापाको हकमा महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न समितिसमेत चयन गरेको सचिव पुरीले बताएका छन् ।

उक्त समितिले अन्य संगठनहरुसँग तालमेलका लागि सम्वाद गर्न र प्रेस संगठन झापाका उम्मेद्वार छनोट गर्न भूमिका निर्वाह गर्नेछ । त्यसका लागि केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा दयाराम दाहाल, तारामणि सापकोटा, झुलन रेग्मी र उद्धव पुरी सदस्य रहेको पाँच सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

सो समितिले महासंघको निर्वाचनका लागि सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गराउन अन्य संगठनसँग सम्वाद, सहमति र सहकार्यलार्ई प्राथमिकतामा राख्ने सचिव पुरीले जानकारी दिए । पूर्व प्रेस सेन्टर आवद्ध नेतृत्वको विशेष बैठकले पत्रकार जन्य संघ–संगठनसँग निकटको सम्बन्ध बढाउने पनि निर्णय गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *