Sajhamanch Archive

एमाले नेताहरु नेपाल र रावल पार्टीबाट निलम्बितः उनका प्रतिक्रिया यस्ता छन्

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।

पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका हुन् ।

यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गरेको जनाइएको छ ।

निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चितउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भर्इ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

साथै यो सच्चिनका लागि अन्तिम मौका भएको पत्रमा भनिएको छ । आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताइएको छ ।

केपी ओलीको तानाशाही विरुद्ध जुध्न आह्वान गर्छुः नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

एमाले अध्यक्ष ओलीले पठाएको पत्र नआएपनि आफूलाई कारबाही गरेको सञ्चार माध्यमबाट सुनेको भन्दै नेता नेपालले भने, ‘केपी ओलीको यो निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको द्योतक हो ।’

अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताए । उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत छर्लङ्ग भएको छ ।’

ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताएका छन् । उनले भने, ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु ।’

‘केपी ओलीकाे तानासाही निर्णय अस्वीकार्य छ’ : भीम रावल

नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गर्दै  पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे तानासाही निर्णय अस्वीकार्य भएकाे बताएका छन् ।

 

सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाएका थिए । पार्टीको कारबाहीपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाएका हुन् । रावलको ट्वीटमा भनिएको छः  ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *