Sajhamanch Archive

म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट पछि हट्यो भारतीय राज्य सरकार

Published: in विश्व समाचार, by .

नयाँ दिल्ली । म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट भारतीय राज्य मणिपुर पछि हटेको छ । मणिपुर सरकारले मार्च २६ तारिखमा अवैधानिक तबरले भारत प्रवेश गरेका शरणार्थीलाई खाना र बास नदिन जिल्ला प्रशासन र नागरिक समाजलाई आग्रह गर्दै आदेश जारी गरेको थियो ।

उक्त निर्णयको चौतर्फी विरोध भएपछि मणिपुर सरकारले सोमबार अर्को सूचना जारी गर्दै पहिलेको निर्णय सच्याएको द वाएरले जनाएको छ । “यसअघि जारी भएको सूचनामा केही गल्ती भएको छ । शरणार्थीहरुका लागि राज्य सरकारले सबै प्रकारका सहयोगलाई निरन्तरता दिनेछ,” संशोधित सूचनामा उल्लेख छ ।

मार्च २६ मा जारी सूचनामा भने मानवीय नाताले गम्भीर घाइतेलाई उपचार प्रदान गरे पनि अन्य सहयोग नगर्ने उल्लेख गरिएको थियो । शरण माग्नेलाई विनम्रता पूर्वक अस्वीकार गर्न राज्य सरकारले आह्वान गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा आलोचना भएको थियो ।

म्यानमारका लागि भारतीय पूर्वराजदूत गौतम मुखोपाध्यायले मणिपुर सरकारको पहिलो निर्णयपछि प्रजातन्त्रका लागि संघर्षरत म्यानमारका जनतामा गलत सन्देश प्रवाह भएको प्रतिक्रिया दिएका थिए । राज्य सरकारले सहयोग नगर्ने निर्णय गरेको दिनमा नै भारतीय सरकारले म्यानमार सेनाले आयोजना गर्ने सैनिक परेडमा आफ्ना सैन्य प्रतिनिधि पठाउने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *