Sajhamanch Archive

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

Published: in समाज, by .

डोटी । डोटीमा कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन ।

सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा परेका छन् । आगलागीका कारण ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेमा रहेको सामुदायिक वनमा बुधवार डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकल र कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।

यहाँका जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाप हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीयवासी मोहन मल्लले बताए ।

उनले भने ,पानी नपर्दा सुख्यायामले जङ्गलमा आगलागी भएको छ । निभाउन सकिएको छैन, सयौँ हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ । यहाँका विभिन्न पालिकाका दर्जनौं सामुदायिक वनमा डढेलो लागिरहेको छ । डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *